कतारसङ्गको पहिलो टि२० आई खेलमा नेपालको सानदार जित

|

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको पहिलो टि२० आई खेलमा सानदार जित हात पारेको छ । पहिलो खेलमा नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

महिला २० आई खेलमा नेपालले हात पारेको यो हालसम्मै ठूलो जित हो । यसअघि नेपालको सर्वाधिक ठूलो जित २०१९ मा इन्डोनेसियाविरुद्ध ९२ रन थियो । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए ।

त्यसअघि कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

नेपाली महिला टोलीले डब्लूटि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन नै नेपालको उच्च योगफल हुँदै आएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।