नेपालगन्ज । बालविवाह रोकथाम परियोजना अन्तर्गत् सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा आयोजित दुई दिने रेडियो पत्रकारिता तालिम आज सम्पन्न भएको छ।
कार्तिक २९ र ३० गते किशोरकिशोरीहरुका लागि आयोजित रेडियो पत्रकारिता तालिममा पत्रकारिता, सामुदायिक पत्रकारिता, रेडियो पत्रकारिता, आधारभूत पत्रकारिता, आधारभूत पत्रकारिता गर्दाका चुनौतीहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । किशोरकिशोरीहरुलाई सामुदायिक रेडियो पत्रकारका रुपमा अभ्यास गराउँदै बालविवाह लगायतका परम्परागत हानीकारक संस्कारहरु विरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयाे ।
यसअघि पनि सामुदायिक रेडियो पत्रकारिताका विषयमा तालिम लिइसकेको किशोरकिशोरी समेत गरी २० जना सहभागी तालिममा पत्रकार नवीन गिरीले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई रेडियो रिपोर्टहरुमा समेट्न सकिने बालविवाहका सवालहरु, रिपोर्ट बनाउने तरिका र प्रस्तुतिकरणसंगै सवाल पहिचान तथा समुदायमा भएका सवालहरुलाई सृजनशील र प्रभावकारी ढंगले प्रस्तुत गर्ने बिभिन्न ढाँचाहरुका बारेमा सिकाइएको थियो । दुई दिने तालिमको व्यवस्थापन स्याक नेपालका सुपरभाइजर अर्मिला रोकाया र अकलिम खानले गर्नुभएको थियो ।






