बाँके / स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशको आयोजनामा अष्ट्रेलियन एड, केयर नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ईमप्लान्ट सही तरिकाले प्रयोग गर्ने बारे ८ दिने तालिम आज सम्पन्न भएको छ ।
सो तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेका अध्यक्ष टेक बहादुर पुनले यस तालिममा सिकेका सीपलाई ब्यवहारिक जिवनमा लागु गर्नु पर्ने बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा पनि समन्वय र सहकार्य गर्ने समेत बताउनुभयो । त्यसैगरि अर्का अतिथि बी–ग्रुपका निर्देशक डम्मर सुनारले यस तालिमको लागि समन्वय र सहकार्यको लागि स्वास्थ्य तालिम केन्द्र र भेरी अस्पताललाई धन्यवाद ब्यक्त गर्नुभयो ।
सो तालिमको प्रशिक्षकमा सिनियर अनेम ममता श्रेष्ठ, काउन्सिलर कमला शाह घले र संस्थापक क्लिनिक तथा तालिम केन्द्रका संयोजक सुभद्रा रोका रहनु भएको छ । सो ८ दिने तालिममा सैद्धान्तिक सगँ सगैं अभ्यास पनि गराईएको बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले जानकारी दिईन् ।
सो तालिममा इम्प्लान्ट प्रयोग गर्न इच्छुक ग्राहकलाई कसरी परामर्श दिने, ईम्प्लान्टले गर्भ कसरी रोक्छ र यसको विशेष काम बारे जानकारी दिने, ईमप्लान्ट प्रयोगको लागि संकेत तथा साबधानिको बारे, ईम्प्लान्ट राख्न ग्राहक छनौट र परिक्षण र सिफारिस गरियको संक्रमण रोकथामको ब्यबहार प्रयोग गर्न, इम्प्लान्ट राख्न र झिक्न दक्षता बनाउने, ईमप्लान्ट प्रयोग सम्बन्धी आबश्यक सिपको विकास गराउने उद्धेश्यले यो तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।
भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा तालिमको समापन भएको थियो । साथै समापन कार्यक्रममा बोल्नु हुदै श्रेष्ठले तालिममा सिकेका ज्ञान र सीपलाई आफनो स्वास्थ्य चौकीमा प्रयोगमा ल्याउन अनुरोध समेत गर्नुभयो र केही समस्या आएमा भेरी अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो । यस अघि खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि ईमप्लान्ट सही तरिकाले प्रयोग गर्ने बारे ८ दिने तालिम प्रदान गरिएको थियो । स्वास्थ्य तालिम केन्द्र, बुटवलका निमित्त निर्देशक अरुण ज्ञवालीले समापन कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।






