नेपालगंज (बाँके) / ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने नेपालगन्जका किशोरीहरुको सुझाव रहेको छ । प्लान इन्टरनेशल नेपालको सहयोगमा स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका प्रविधिको सुरक्षित प्रयोग तथा साईबर कानुन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा नेपालगंज उपमहानगरपालिकाका २० जना किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक तथा पत्रकार सोम गुरुङले कम्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुनको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर अक्लिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।
नेपालगंज वडा नं.२१ का सहभागी किशोरी सरिता बिकले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् ।
त्यसैगरि अर्का सहभागी सुस्मिता गिरीले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी पाएको सार्थ सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्ने बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।






