काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्दै हुनुहुन्छ ।
पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री देउवासँगै स्कटल्याण्डको ग्लास्गो जाने टोलीमा सचिव मात्रै ६ जना छन् । मित्रराष्ट्र बेलायतको नेतृत्वमा हुन लागेको सम्मेलनको अवसरमा कात्तिक १५ र १६ गते वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण तथा अनुकूलनका लागि गर्नुपर्ने उपायलगायतका विषयमा धारणा प्रस्तुत गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा आज बिहान कतार एयरको उडानमार्फत लन्डन जानुहुनेछ ।
अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।






