नेपालगन्ज । दाेस्राे नेपालगन्ज 10k म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रुपमा सहकार्य गरेको छ ।
यही बैशाख २५ गते राति 8 बजे हुने म्युजिक नाइट रन संगीत र दाैड मार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान रहेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
नेपालगन्ज 10k नाइट रन विश्व रनिङकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे पुर्णकालीन सदस्य हाे । नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने रेस डाइरेक्टर गुरुङले बताए । नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चाेक पुगेर पुन; साेही रुट हुँदै बीपी चाेकमा सम्पन्न हुने दाैड अवधिभर सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ । एम्समा आवद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एकमात्र सहर हाे ।
नाइट रनमा १० किमि खुला पुरुष र महिला तथा ५ किमि स्कुल स्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ । गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर(बाँके)कि गीताकुमारी साहु विजेता बनेका थिए । नेपालगन्ज 10k म्युजिक नाइट रन नेपालकाे पहिलो रात्री दाैड हाे । स्वस्थ , सभ्य र सुरक्षित सहरकाे परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयाेजकले जनाएको छ ।
यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वर्ल्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एशियाली र एशियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयाेजक रेस नेपालका काेषाध्यक्ष सुमन बस्नेतले जानकारी दिए । धारम नेपालगन्ज म्याराथनले थाइल्यान्ड मलेसिया सिंगापुर भुटान बंगलादेश लगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेकाे छ ।






