
नेपालगन्ज / खजुरा गाउँपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँके र केयर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि ४ दिने स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम आज सम्पन्न भएको छ ।
सो समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय ,बाँकेका प्रमुख धिरजङ्ग शाहले यो तालिमममा सिकेका सीपहरुलाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । त्यसै गरि अर्का अतिथि स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत विकल्प चौधरीले यस तालिमले समयको बचत र सही र सत्य सूचना विश्लेषण गर्न सहयोग पुग्ने बताउनुभयो ।
सो ४ दिने तालिममा स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको बारे जानकारी, तथ्याङ्क इन्ट्री गर्ने तरिका, तथ्याङ्कको विश्लेषण, तथ्याङ्कको प्रस्तुतीकरण र तथ्याङ्कको सही प्रयोग बारे प्रशिक्षण गरिएको बी–ग्रुपका फिल्ड सुपरभाईजर सम्झना चौधरीले जानकारी दिनुुभयो ।
सो तालिममा सहभागी स्वास्थ्य चौकी सीतापुरका ईन्चार्ज कृष्णचन्द्र सन्ज्याल र स्वास्थ्य चौकी राधापुर अस्मिता थापाले तालिम फलदायी भएको बताए ।
सो ४ दिने तालिमको सहजीकरण स्वास्थ्य कार्यालय, बाँकेका मलेरिया इनिस्पेक्टर निरिक्षक दुर्गा गौतम र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले गरिरहनु भएको बी–ग्रुपका लेखा अधिकृत वेद दिक्षितले जानकारी गराउनुुभयो । यस अघि पनि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान गरिएको बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले जानकारी गराउनुभयो । तालिम खजुरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।