
काठमाडौँ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।
नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले संगठनमा बोलचालमा सम्मानार्थी शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको बताए । “मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,” उनले भने,“अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।”
संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकालयले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।