काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत काम गर्न रोक लगाएको हो ।
सर्वोच्चको आदेशले उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २० मन्त्रीलाई काम गर्न रोक लगाएको छ । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल, यातायातमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्रै बाँकी रहनुहुने भएको छ।
उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ तथा राजेन्द्र महतो एवम् मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, नैनकला थापा, लक्ष्मणलाल कर्ण, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकबाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ तथा राज्यमन्त्री चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी बिकलाई तोकिएको कार्य नगर्नु र गर्न नदिनु नदिलाउनु भनी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।






