रुपन्देहीको दोगहरीमा बाली उपचार शिविर सम्पन्न

|

रुपन्देही / रुपन्देही जिल्लामा अवस्थित दिगो कृषिका लागि युवा प्रयत्न नामक संस्थाले सिद्दार्थनगर नगरपालिका वडा नम्बर १० दोगहरी क्षेत्रमा बाली उपचार शिविर सम्पन्न गरेको छ । बाली उपचार शिविर दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा बैशाख ६ गतेका दिन ५० घरधुरी किसानहरुमाझ गएर विभिन्न रोग र किराहरुको बारेमा सर्वेक्षण लिइएको थियो । यस मौसममा कृषकहरुको खेत एवं बारीमा विशेषतः लहरे एवं झालपात परिवारका(कुकुरबिटेसिएई) तरकारी वाली मौजूद रहेका छन् । यसका अलावा मालभेसि, लेगुमिनेसिएई, अम्बेलीइफेरिई, लेमिएसिएई, लीलिएसिएई, सोलानेसिएई, एनाकर्डीएसिएई, सपिन्डेसिएई परिवारका बालीहरू पनि प्रशस्तै भेटियो ।

काक्रो र फर्सीमा ढुसीको आक्रमण धेरै भेटिएको छ । प्रारम्भिक फिल्ड जाँच अनुसार धुले ढुसी हुन सक्ने आशंका गर्न सकिने लक्षण अवलोकन गरिएको छ । गोलभेडा, काक्रो र फर्सीको पातमा पात खन्ने किराको सुरुङ भेटिएको छ । बोडी लगाइएको खेतमा पतेरोको व्यापक त्रास थियो जसले गर्दा फलहरु सुकेको र दानामा रस कम पाइएको छ । गोलभेडा, भेण्टा इत्यादिमा फलमा प्वाल पार्ने किराको अवशेष र भेन्टाको टुप्पोमा पनि यसको प्रकोप देखिएको छ । झालपात लगाइएको खेतमा कहिकहि धमिराको प्रकोप भेटियो भने अलिअलि गुम्मोसिस पनि भेटियो। झालपात बालीमै फल कुहाउने रोगको प्रकोप पनि प्रशस्त थियो। तरकारी बालीमा खाध्यतत्वको कमिका प्रशस्त लक्षणहरू देखिएका थिए यद्यपि, पानी नपुगेको, पानी बढी भएको, किराको आक्रमण र रोगको लक्षण आपसमा मिश्रण हुन सक्ने आशंका गरिएको छ ।

दोस्रो चरणमा बैशाख ८ गते सिद्धार्थनगर नगरपालिका वडा न. १० को कार्यालयमा किसानहरुले लिएर आएका नमुनाको निरीक्षण गरि उहाँहरुलाई उपयुक्त परिक्षण, औषधि र विषादीहरुको (IPM मा आधारीत रहि) सुझाव दिने र वितरण गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख हरि प्रसाद अधिकारी र अतिथिको रुपमा सिद्धार्थनगर नगरपालिका वडा न. १० को वडा अध्यक्ष विजय नाथ धोवीको उपस्थिति रेहेको थियो । यस बाली उपचार शिविरमा प्राविधिकहरुको रुपमा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका वैज्ञानिकहरु बिनिता शर्मा र शिवरतन गुप्त सगै सिद्धार्थनगर नगरपालिकाको कृषि विभागका कृषि अधिकृत योगेन्द्र प्रसाद यादव, प्राविधिक रविन रिजाल र अर्चना पौडेलको उपस्थिति रहेको थियो । शिविरमा किसानहरुको उत्साह जनक उपस्थित रहेको थियो । उक्त बाली उपचार शिविर यसै संस्थाको प्लान्ट विँग संयोजक जय चौरसियाको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सहसचिब भरत पुन मगरले गर्नुभएको थियो ।

२०७८ बैशाख १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।