काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति निर्वाचित भएका थिए ।
विधानअनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था नेकपामा छ ।






