३० वर्षपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा, पूर्वाधार निर्माणको बाटो खुल्यो

|

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले भवन निर्माण भएको तीन दशकपछि अन्ततः आफ्नो नाममा जग्गाधनी पुर्जा प्राप्त गरेको छ। जग्गाको स्वामित्व नहुँदा वर्षौँदेखि पूर्वाधार विस्तारमा सास्ती व्यहोर्दै आएको प्रहरी चौकीले निरन्तरको प्रयासपछि जमिन आफ्नै नाममा ल्याउन सफल भएको हो।

तीन दशकअघि स्थानीय समाजसेवी लच्छु अहिरले प्रहरी चौकी निर्माणका लागि २ कठ्ठा ७ धुर जग्गा उपलब्ध गराउनुभएको थियो। भवन बने पनि विभिन्न कानुनी र प्रक्रियागत कारणले लामो समयसम्म जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण हुन सकेको थिएन।

प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक असई कुलबहादुर विकले कार्यभार सम्हालेपछि निरन्तर ताकेता र पहल गरी लालपूर्जा प्राप्त गर्नुभएको हो।

जग्गाधनी पुर्जाको अभावमा प्रहरी चौकीको नयाँ भवन विस्तार तथा अन्य आवश्यक भौतिक संरचना निर्माण गर्न ठूलो कठिनाइ हुँदै आएको थियो। बजेट र योजना भए पनि स्वामित्वकै कारण विकासका काम रोकिएका थिए। लालपूर्जा प्राप्त भएसँगै अब प्रहरी चौकीको आफ्नै नामको जमिनमा व्यवस्थित भौतिक संरचना निर्माण गर्ने बाटो पूर्ण रूपमा खुलेको छ।

आफ्नै स्वामित्वमा जग्गा आएपछि प्रहरी कर्मचारीको बसोबास र दैनिक कार्यसम्पादनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। अथक प्रयास र मिहिनेतपछि जग्गा प्रहरी चौकीको नाममा ल्याउन सफल भएका छौँ, असई विकले भन्नुभयो, जमिन प्राप्तिसँगै भौतिक संरचना निर्माणको बाटो खुलेको छ र सेवा प्रवाहमा समेत टेवा पुग्ने विश्वास छ।

जग्गाको कानुनी उल्झन सुल्झिएसँगै अब खडैचा क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन र आधुनिक सुविधासहितको भवन निर्माण कार्य अघि बढाउन सहज हुने स्थानीय प्रहरी कर्मचारीहरूले बताएका छन्।

२०८३ श्रावण २२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।