बर्दिया । सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आधारभूत विद्यालय गणित विषय शिक्षण पुनर्ताजगी तालिम तथा उपचारात्मक कक्षा सञ्चालन सिकाइ आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
Plan International Nepal र BEE Group को सहयोग तथा सहजीकरण, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिका को सहकार्य तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दिया को समन्वयमा मिति २०८३ साउन ८ देखि १० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम BEE Group का संस्थापक गोपालनाथ गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा BEE Group का कार्यकारी निर्देशक डम्मर सुनार, Plan International Nepal क्षेत्रीय कार्यालय, सुर्खेतका शिक्षा प्राविधिक सल्लाहकार, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दिया का प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, परियोजनाका कर्मचारी तथा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका आधारभूत विद्यालयमा गणित विषय अध्यापन गराउने २० जना शिक्षकहरूको सहभागिता रहेको थियो।

तीन दिने तालिममा सहभागी शिक्षकहरूले विद्यार्थी–केन्द्रित, प्रभावकारी तथा सहभागितामूलक गणित शिक्षणका नवीन विधि, उपचारात्मक (Remedial) कक्षा सञ्चालनका प्रभावकारी अभ्यास तथा सिकाइ सुधारका विभिन्न रणनीतिबारे ज्ञान र सीप हासिल गरेका छन्। साथै, आफ्ना विद्यालयमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यास र अनुभवहरू एकआपसमा आदान–प्रदान गरेका छन्।
कार्यक्रमको सहजीकरण सुर्खेत क्याम्पसका प्राध्यापक नरहरि आचार्यले गर्नुभएको थियो। उहाँले व्यवहारिक अभ्यास, समूहगत छलफल तथा नवीन शिक्षण विधिमार्फत गणित शिक्षणलाई थप प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गरी विद्यालयमा गुणस्तरीय गणित शिक्षण प्रवर्द्धन तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






