मधेश र लुम्बिनीका आदिवासी पत्रकारका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा

|

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले डेडिकेटेड ग्रान्ट मेकानिज्म (डिजिएम) नेपालको वित्तीय सहयोगमा मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ।

वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञान, सीप र अभ्याससँग सम्बन्धित विषयमा गहन अध्ययन, खोज तथा अनुसन्धानमूलक पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गरिएको फोनिजले जनाएको छ। डिजिएम नेपाल आदिवासी तथा स्थानीय समुदायको रेडप्लस (REDD+) लगायत वन तथा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागिता सुदृढ बनाउन सञ्चालित परियोजना हो।

फेलोसिपका लागि डिजिएम नेपाल परियोजना लागू भएका मधेश र लुम्बिनी प्रदेशका क्षेत्रका आदिवासी जनजाति समुदायसँग सम्बन्धित पत्रकारहरूले आवेदन दिन सक्नेछन्। इच्छुक पत्रकारले वन, वातावरण, जलवायु परिवर्तन तथा आदिवासी समुदायसँग सम्बन्धित विषयमा कम्तीमा २५० शब्दको मौलिक अवधारणापत्र (Concept Note) सहित आवश्यक कागजात पेश गर्नुपर्नेछ।

फोनिजका अनुसार छनोट भएका पत्रकारलाई अध्ययन, स्थलगत भ्रमण, खोज तथा अनुसन्धानमूलक समाचार, फिचर स्टोरी वा विशेष रिपोर्ट तयार गर्न प्रति फेलो अधिकतम ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइनेछ। फेलोसिपअन्तर्गत तयार गरिने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्नेछ भने शब्द र भिडियो दुवै माध्यममा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

फेलोसिपअन्तर्गत तयार हुने अनुसन्धानमूलक सामग्री कम्तीमा तीन हजार शब्दको हुनुपर्नेछ र सहयोग प्राप्त गरेको २१ दिनभित्र प्रतिवेदन वा सामग्री बुझाउनुपर्नेछ।

आवेदनका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN), पत्रकारिता गरिरहेको सञ्चार संस्थाको परिचयपत्र वा सिफारिसपत्र तथा व्यक्तिगत बायोडाटा अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

फोनिजले २०८३ साल साउन ६ गते आवेदन पेश गर्ने अन्तिम मिति तोकेको छ। इच्छुक पत्रकारहरूले फोनिजको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। कार्यक्रमसम्बन्धी विस्तृत जानकारीका लागि फोनिज वा डिजिएम नेपालको आधिकारिक माध्यममा सम्पर्क गर्न अनुरोध गरिएको छ।

डिजिएम नेपालकी साधाना लिम्बुका अनुसार आदिवासी जनजाति पत्रकारमार्फत स्थानीय समुदायसम्म सूचना र समाचार प्रभावकारी तथा छिटो रूपमा पुग्ने भएकाले पहिलो चरणमा मधेश र लुम्बिनी प्रदेशका आदिवासी तथा स्थानीय पत्रकारलाई लक्षित गर्दै पत्रकार फेलोसिप कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार यस कार्यक्रमले वन, वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा गुणस्तरीय तथा अनुसन्धानमूलक पत्रकारितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

२०८३ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।