बालमैत्री वडा घोषणा अभियानलाई टेवा : वीरेन्द्रनगर–७ मा स्तनपान कक्ष स्थापना सामग्री हस्तान्तरण

|

वीरेन्द्रनगर / बालमैत्री वडा घोषणा अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–७ मा स्तनपान कक्ष स्थापना गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

सेभ द चिल्ड्रेनको साझेदारी तथा किर्डाक नेपालको एलपिएल–एससिआई कर्पोरेट को–फाइनान्सिङ परियोजनाअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा किर्डाक नेपालका कर्णाली प्रदेश कार्यक्रम व्यवस्थापक राजबहादुर रोकायले वडा नं. ७ का वडा अध्यक्ष ध्रुवकुमार चपाईलाई स्तनपान कक्षका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण गरिएका सामग्रीमा एक थान सोफा, सामान राख्ने र्याक, पानी फिल्टर, म्याट, डस्टबिन, बाल्टिन, १० मिटर जुटको कार्पेट, १२ वटा हात धुने साबुन, २०० एमएलको ह्यान्डवास, सात प्याकेट टिस्यु पेपर तथा एक थान मल्टिप्लग रहेका छन्।

किर्डाक नेपालका प्रतिनिधिहरूका अनुसार स्तनपान कक्ष स्थापना तथा आवश्यक सामग्री उपलब्ध गराउनुको मुख्य उद्देश्य बालमैत्री वडा घोषणा प्रक्रियालाई सहयोग पुर्‍याउनुका साथै बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्न वडा कार्यालयलाई सहजीकरण गर्नु हो। साथै, स्तनपान कक्ष सञ्चालनमा आएपछि आमा तथा शिशुको स्वास्थ्य, पोषण र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

वडा अध्यक्ष ध्रुवकुमार चपाईले वडा कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि सेवाग्राही तथा कर्मचारीहरूले सुरक्षित, स्वच्छ, गोपनीय र सहज वातावरणमा आफ्ना शिशुलाई स्तनपान गराउन सक्ने वातावरण निर्माण हुने बताउनुभयो। उहाँले यस पहलले बालमैत्री वडा घोषणा अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।

वडा सचिव मञ्जु कुमारी भण्डारीले उक्त सहयोगबाट बालअधिकार प्रवर्द्धन, महिला तथा बालमैत्री सेवा प्रवाह तथा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

स्थानीय तहमा आमा र शिशुमैत्री सेवा प्रवाहलाई संस्थागत गर्दै बालमैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा उतार्ने दिशामा यो सहयोग महत्वपूर्ण कदमका रूपमा हेरिएको
छ।

२०८३ असार २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।