जानकीका बालबालिकालाई बालविवाह, अनलाइन सुरक्षा र लागुऔषध नियन्त्रणबारे प्रशिक्षण

|

नेपालगञ्ज / बाँकेको जानकी गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै बालविवाह, लागुऔषध दुव्र्यसन, बालश्रम तथा अनलाइन सुरक्षासम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पालिका स्तरीय बालक्लब सञ्जाल, जानकी गाउँपालिका बाँकेको आयोजनामा, जानकी गाउँपालिकाको समन्वय तथा सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा जानकी गाउँपालिकाका ६ वटै वडाका बालक्लब सञ्जालका ३० जना बालबालिकाको सहभागिता रहेको थियो। सहभागीहरूलाई बालअधिकार संरक्षण, सुरक्षित डिजिटल अभ्यास, बालविवाह, बालश्रम, लागुऔषध दुव्र्यसन तथा सामाजिक विकृतिविरुद्ध सचेत बनाउने उद्देश्यले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

जानकी गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत विकास जिसीले साइबर अपराधका प्रकार, विद्युतीय अपराधका नयाँ स्वरूप, साइबर सुरक्षाका उपाय, सुरक्षित इन्टरनेट प्रयोग तथा अनलाइन ठगीबाट बच्ने उपायबारे जानकारी गराउँदै डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाप्रति सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी, बेलभार प्रहरी चौकीका इन्चार्ज भीम रावलले बालविवाह, लागुऔषध दुव्र्यसन, बालश्रम तथा अनलाइन सुरक्षाको वर्तमान अवस्था प्रस्तुत गर्दै यस्ता सामाजिक समस्याबाट बालबालिकालाई जोगाउन अभिभावक, समुदाय र सरोकारवालाको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।

महिला तथा बालबालिका शाखाका प्रमुख कल्पना गाहाले पालिकाभित्रका बालबालिकाको अवस्था, उनीहरूको अधिकार, कर्तव्य तथा बालविवाह र लागुऔषधका कारण बालबालिकामा पर्ने नकारात्मक असरबारे जानकारी दिनुभयो। उहाँले बालअधिकार संरक्षणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बाल स्पोन्सरसीप, बालक्लबको भूमिका, अधिकार र जिम्मेवारी तथा आगामी कार्ययोजनाबारे सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गराउनुभयो।

कार्यक्रममा सहभागीहरूले बालविवाह, बालश्रम, लागुऔषध दुव्र्यसन तथा साइबर अपराधजस्ता चुनौती न्यूनीकरण गर्न समुदायस्तरमा निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै सुरक्षित, जिम्मेवार र अधिकारमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

२०८३ असार २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।