नेपालगञ्ज / लुम्बिनी प्राविधिक विश्वविद्यालय को चौथो वार्षिकोत्सव शनिबार नेपालगञ्जमा विभिन्न विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, शिक्षाविद्, सरकारी निकायका प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, नेपालगञ्ज सभाहल मा आयोजित समारोहमा लुम्बिनी प्रदेश सरकार का सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहको अध्यक्षता विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकाल ले गर्नुभएको थियो। कार्यक्रममा विश्वविद्यालयका कुलसचिव रेग बहादुर भण्डारी ले स्वागत मन्तव्य राख्दै विश्वविद्यालयको स्थापना, विगत चार वर्षमा हासिल भएका उपलब्धि तथा आगामी शैक्षिक योजनाबारे जानकारी गराउनुभयो।

प्रमुख अतिथि तथा सहकुलपति तिमिल्सिनाले विश्वविद्यालय परिवारलाई चौथो वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै प्राविधिक शिक्षा मुलुकको आर्थिक तथा सामाजिक समृद्धिको प्रमुख आधार भएको बताउनुभयो। उहाँले गुणस्तरीय प्राविधिक शिक्षाको विस्तार, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
समारोहमा लुम्बिनी प्रदेश सभा का सदस्यहरू अम्बिका काफ्ले, मिना श्रेष्ठ, सन्जु चौधरी, सुशिला वादी तथा माया पुन को उपस्थिति रहेको थियो।
त्यसैगरी, लुम्बिनी प्रदेश योजना आयोग का उपाध्यक्ष डा. डिल्ली राज अर्याल, प्रशान्त विष्ट लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विश्वविद्यालयले स्थापना दिवसको अवसरमा विगत चार वर्षमा हासिल गरेका शैक्षिक तथा संस्थागत उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






