बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

|

बैजनाथ / जलवायु परिवर्तन सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी तथा समीक्षा बैठक सम्पन्न भएको छ।

बैजनाथ गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न बैठकमा सहभागी प्रधानाध्यापकहरूले जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो अवधिमै सकारात्मक उपलब्धि हासिल गरेको बताएका छन्।

कार्यक्रममा बोल्दै श्री सूर्योदय माध्यमिक विद्यालय, चिसापानीका प्रधानाध्यापक दीपक बहादुर शाहीले जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका असरबारे विद्यार्थी मात्र नभई अभिभावकसमेतलाई सचेत बनाउन आवश्यक रहेको बताए।

बैठकमा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सरसफाइ, हरियाली प्रवर्द्धन, शुद्ध खानेपानीको व्यवस्था तथा वातावरणमैत्री शैक्षिक वातावरण निर्माणका लागि गाउँपालिकाले थप ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका क्रममा जलवायु परिवर्तन सचेतना कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए। उनीहरूले कार्यक्रमबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव तथा न्यूनीकरणका उपायबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका थिए।

बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गरेको बैठकमा संस्थाका निर्देशक हेमराज भट्टले कार्यक्रमको उद्देश्य, हासिल भएका उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

बैठकमा बैजनाथ गाउँपालिका वडा नं. १ स्थित श्री सूर्योदय माध्यमिक विद्यालय, वडा नं. ५ का श्री सुन्दर आधारभूत विद्यालय, श्री सिंह भवानी आधारभूत विद्यालय तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुरुवागाउँ, साथै वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक तथा जलवायु क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विद्यालय, स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

२०८३ जेष्ठ २५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।