बाँके । बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तीनदिने तालिम आइतवार सम्पन्न भएको छ । स्थानीय सरकार अन्तर्गत बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो ।
जानकी गाउँपालिकाको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकास मञ्चको सहयोगमा सम्पन्न भएको उक्त तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला निकाय तथा विभिन्न समुदायस्तरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल संरक्षण प्रणालीको विकास, बालअधिकारसम्बन्धी प्रक्रिया, घटना व्यवस्थापन, बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा बाल संरक्षण सेवासम्बन्धी विषयमा सहजीकरण प्रशिक्षक प्रकाश उपाध्यायले ३ दिन प्रशिक्षण दिनुभएको थियो । तालिमले बाल संरक्षणका घटनाको प्रभावकारी अभिलेखीकरण, व्यवस्थापन तथा आवश्यक सेवा प्रवाहमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चण्डिका प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव रहनुभएको थियो ।
तालिममा जानकी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक भीमबहादुर सार्की, बाल संरक्षण अधिकृत जनक चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बाल क्लबका पदाधिकारी, वडा सचिव, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।






