नेपालगञ्ज। विश्व वातावरण दिवस २०२६ को अवसरमा नेपालगञ्जमा साइकल यात्रा तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। “प्लास्टिकजन्य प्रदूषण अन्त्य गरौं, स्वच्छ र हरित भविष्य सुनिश्चित गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिइएको थियो।
नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा तथा डिभिजन वन कार्यालय, नेपालगञ्ज बाँकेको सहयोगमा आयोजित साइकल यात्रा बिहान डिभिजन वन कार्यालय, गणेशमान चोकबाट सुरु भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका वातावरणप्रेमी, युवायुवती, साइकलयात्री तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
साइकल यात्रापछि नेपालगञ्जको राँझास्थित पशुपति मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण तथा हरियाली विस्तारको प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले वातावरणीय प्रदूषण नियन्त्रण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरित जीवनशैली अपनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपण र वातावरणमैत्री यातायातको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए।
आयोजकले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै वातावरण संरक्षणका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन्। “स्वच्छ वातावरण, स्वस्थ जीवन” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।






