बढैयाताल (बर्दिया) । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परसपुरले आफ्ना एक मृतक सदस्यको परिवारलाई बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ ।
संस्थाले बढैयाताल गाउँपालिका–१, शान्तिपुर निवासी स्वर्गीय मैसरी गुरुङ्गको निधन भएपछि उहाँका छोरा सोम बहादुर गुरुङ्गलाई बीमा क्षतिपूर्ति बापत ३ लाख ४४ हजार ४० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बढैयाताल गाउँपालिका–१ मा आयोजित एक विशेष कार्यक्रमका बीच वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले मृतकका छोरा सोम बहादुरलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले वित्तीय संस्था र स्थानीय समुदायबीचको सम्बन्ध अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो । संस्थाले आफ्ना ऋणी सदस्यहरूलाई बीमा सुविधा उपलब्ध गराउनुका साथै मृत्यु पश्चात् बाँकी रहेको ऋण मिनाहा गरिदिने र तिरिसकेको रकम समेत फिर्ता गर्ने व्यवस्था गर्नु अत्यन्तै सकारात्मक र सराहनीय कार्य भएको भन्दै उहाँले संस्थाको प्रशंसा गर्नुभयो ।
शान्तिपुर ‘घ’ केन्द्र ९८ का अध्यक्ष लक्ष्मी खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी परसपुर शाखा प्रमुख शान्ति सापकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा मृतक सदस्य स्वर्गीय मैसरी गुरुङ्गप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित अतिथिहरूले शोक मन्तव्य व्यक्त गरेका थिए । उक्त राहत वितरण कार्यक्रममा बढैयाताल गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष शेर बहादुर थापा, शिक्षक तिलक मल्ल लगायत स्थानीय महानुभावहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन परसपुर शाखाकी हरिता गुरुङ्गले गर्नुभएको थाहा भएको छ ।
लघुवित्तले प्रदान गर्ने यस्ता वित्तीय सुरक्षा र बीमा सुविधाहरूले ग्रामीण क्षेत्रका न्यून आय भएका परिवारलाई ठूलो संकटका बेला महत्त्वपूर्ण आर्थिक राहत पुर्याउँदै आएका छन् ।






