नेपालगन्ज। प्रथम बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालिन मेला २०८३ संचालन हुने भएको छ । थारु पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा यही जेठ १ गतेदेखि ११ गतेसम्म कृषि पर्यटन व्यापार, बढैयाताल संरक्षण गर्ने हाम्रो मूल आधार भन्ने मूल नाराका साथ प्रथम बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालिन मेला २०८३ संचालन हुने भएको हो ।
मेलाको मुख्य उद्देश्य बढैयाताल क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा स्थानीय कृषि उत्पादन, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नु रहेको थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष जागेश्वर सिंह थारुले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । बढैयाताल बर्दिया जिल्लाको एक महत्वपूर्ण पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकोले यसको संरक्षण र दिगो उपयोगमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । मेलामा स्थानीय किसानद्धारा उत्पादित कृषि उपज, घरेलु तथा साना उद्योगका सामाग्री, थारु समुदाय लगायत विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी, नृत्य तथा परम्परागत कला प्रस्तुत गरिने अध्यक्ष थारुले जानकारी गराउनुभयो ।
मेलाले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । बढैयाताल क्षेत्रको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य समेत रहेको अध्यक्ष थारुले जानकारी गराउनुभयो । आयोजक थारु पत्रकार संघ नेपालले मेलाबाट आम्दानी भएको रकमले नयाँ पत्रकारहरुलाई तालिम प्रदान गरिने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रम अवधिभर विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै सांस्कृतिक प्रस्तुति र स्थानीय परिकार प्रदर्शनी समेत रहने आयोजकले जनाएको छ । मेलामा करिव ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजक मुल समितिका व्यवस्थापक विक्रम क्षेत्रीले जानकारी गराउनुभयो । मेलामा करिव ५० लाख खर्च लाग्ने व्यवस्थापक क्षेत्रीले जानकारी गराउनुभयो । मेला सर्वसाधरणका लागि प्रबेश शुल्क रु १०० लाग्ने छ भने विद्यार्थीको लागि ८० रुपैया लाग्ने मेलाका सांस्कृतिक संयोजक गोपाल गुप्ताले जानकारी गराउनुभयो । बृद्धबृद्धाहरुको लागि भने प्रबेश शुल्क निशुल्क रहने सांस्कृतिक संयोजक गुप्ताले जानकारी गराउनुभयो । मेला अवधिभर बढैयाताल र मेलाको शुरक्षार्थ स्थानिय प्रशासन, सेक्युरिटी गार्ड र ड्रोन क्यामराबाट निगरानी गरिने व्यवस्थापन पक्षले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।






