सुर्खेत। दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली यूथ फेस्टिभल’मा ‘कर्णाली यूथ आइकन’बाट सम्मानित भएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १९ गतेदेखि सञ्चालित ‘कर्णाली यूथ फेस्टिभल’का अवसरमा सिंहलाई उक्त सम्मान प्रदान गरिएको हो। दैलेखको दुर्गम गाउँबाट सुरु भएको उनको संघर्ष, लगन र निरन्तर मेहनतले उनलाई कर्णालीकै प्रेरणादायी युवाको रूपमा चिनाएको आयोजकले जनाएको छ।
वि.सं. २०५६ सालमा बुबा याम बहादुर सिंह र आमा टीका कुमारी सिंहको कोखबाट जन्मिएका आदर्श सानैदेखि जिज्ञासु, अध्ययनशील र सेवाभावी स्वभावका थिए। शिक्षक बुबा र स्वयंसेविका आमाको प्रेरणाले उनी बाल्यकालदेखि नै शिक्षा र समाजसेवामा आकर्षित भएका थिए।
विद्यालय तहदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै उच्च शिक्षाका लागि गाउँ छोडेका उनले कक्षा १२ को अध्ययन सुर्खेतको वीरेन्द्रनगरस्थित श्री आदर्शराज मेमोरियल माध्यमिक विद्यालयबाट पूरा गरेका हुन्। त्यसपछि उनले स्नातक तहको अध्ययन मध्यपश्चिम विश्वविद्यालयबाट सम्पन्न गरेका छन्।
शैक्षिक यात्रासँगै उनले आफ्नो लक्ष्यलाई फराकिलो बनाउँदै सन् २०१८ देखि उप्रेरक वक्ताका रूपमा सक्रियता बढाएका छन्। हालसम्म उनले झण्डै २० हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई प्रत्यक्ष रूपमा प्रेरित गरिसकेका छन्। पछिल्लो समय उनी नेपाल प्रहरीलाई समेत उत्प्रेरणा प्रदान गर्ने कार्यमा संलग्न छन्।
आदर्श ‘राइजिङ ट्यालेन्ट’का संस्थापक समेत हुन्। यस संस्थामार्फत उनले युवाहरूलाई पब्लिक स्पिकिङ तालिम प्रदान गर्दै आएका छन्। साथै, ‘सम्भव छ’ नामक पोडकास्टमार्फत अनुभव र प्रेरणादायी विचारहरू साझा गरिरहेका छन्।
सामाजिक तथा राजनीतिक चेतनामा समेत सक्रिय रहेका सिंहले २०८२ सालको जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेशमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए। त्यसयता उनी युवा पुस्तालाई उन्नत लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयमा सचेत बनाउँदै आएका छन्।
गिताचौरको साधारण परिवेशबाट सुरु भएको उनको यात्रा आज कर्णालीका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। दर्शन, अध्यात्म, व्यक्तित्व विकास, नेतृत्व र उद्यमशीलतामा गहिरो अध्ययन गर्ने उनी नयाँ पुस्ताको चेतनामा सकारात्मक प्रभाव पार्ने युवाका रूपमा परिचित छन्।






