फोटोपत्रकारको अवस्था चुनौतीपूर्ण, अन्तर्राष्ट्रिय सम्मेलन नेपालमै हुने

|

काठमाडौँ / राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपालमा फोटोपत्रकारहरूको अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले कोभिड–१९ महामारी, भूकम्प तथा आर्थिक संकटजस्ता विपद्का समयमा फोटोपत्रकारहरू सबैभन्दा बढी प्रभावित हुने उल्लेख गरे।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष वन्तले फोटोपत्रकारिताको पेशागत सुरक्षा, आर्थिक स्थायित्व र सामाजिक सम्मान अझै सुनिश्चित हुन नसकेको बताए। यस्ता चुनौतीका बाबजुद पनि फोटोपत्रकारहरूले आफ्नो जिम्मेवारी निरन्तर निभाइरहेको उनको भनाइ थियो।

कार्यक्रमका अवसरमा आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकार सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ। उक्त सम्मेलनमा करिब १०० जना अन्तर्राष्ट्रिय फोटो पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले नेपालको फोटो पत्रकारिता क्षेत्रलाई विश्वसँग जोड्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि छविन्द्र पराजुलीले फोटो पत्रकारिताले नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले फोटो पत्रकारहरूको योगदानलाई राज्यले उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।

सोही अवसरमा स्वर्गीय चुङ्बा शेर्पाको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको जानकारी दिइयो। साथै, वार्षिक फोटो क्यालेन्डरको पनि विमोचन गरिएको थियो।कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र अवसर विस्तारका लागि थप पहल आवश्यक रहेको धारणा राखेका थिए।

२०८३ बैशाख १३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।