नेपालगन्ज / सन्त निरंकारी मण्डल नेपालगन्जको आयोजनामा मानव एकता दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ। उक्त शिविरमा कुल ८५ जनाले रक्तदान गरेका छन्, जसमा ३० जना महिला र ५५ जना पुरुष सहभागी रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री माननीय भण्डारी लाल यादवले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा मानवता र सहकार्यको भावना अभिवृद्धि गर्ने बताए।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालगन्जका अध्यक्ष शिव प्रसाद गोडियाले स्वागत मन्तव्य राख्दै यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाइने बताए।रक्तसञ्चार केन्द्र,नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

आयोजक सन्त निरंकारी मण्डल नेपालगन्जले आगामी दिनमा पनि समाजहितका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 
‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।






