भेरी सहकारीको ३०औँ स्थापना दिवसमा रक्तदान तथा निःशुल्क दन्त शिविर

|

नेपालगञ्ज । भेरी सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्ज, बाँकेले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ। संस्थाले शनिबार आफ्नै प्रांगणमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष भिमबहादुर मल्लले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थापक कार्यसमिति सदस्य तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर मधुसुधन रिजाल उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा लायन्स क्लब इनोभेटिभका संस्थापक अध्यक्ष तथा पास्ट डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा अतिथिका रूपमा संस्थाका शेयर सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता सामाजिक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने बताएका थिए।

कार्यक्रम अन्तर्गत प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। त्यस्तै नेपाल डेन्टल क्लिनिकका चिकित्सक डा. दिलबहादुर सत्याल सहितको टोलीले निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।
संस्थाका व्यवस्थापक शोभा गुरुङका अनुसार दन्त शिविरबाट ३५ जनाले सेवा लिएका छन् भने ३१ जनाले रक्तदान गरेका छन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव अन्जु शर्माले गर्नुभएको थियो।

संस्थाले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिएको जनाएको छ।

२०८२ फाल्गुन ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।