सोम गुरुङ,बर्दिया । एफ.सी. डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा सञ्चालन भइरहेको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज भएका खेलहरूमा वडा नम्बर १ ‘ए’ र वडा नम्बर २ ले जित हात पारेका छन्।
आज सम्पन्न पहिलो खेलमा वडा नम्बर १ ‘ए’ र वडा नम्बर ५ बीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा वडा नम्बर १ ‘ए’ का खेलाडी आशिष सिंहले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि आफ्नो टिमलाई विजयी गराउन सफल भएका थिए।
त्यसैगरी दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर ४ बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा वडा नम्बर २ का खेलाडी विकास घर्ती मगरले निर्णायक एक गोल गर्दै टिमलाई जित दिलाएका थिए।
प्रतियोगिता स्थानीय युवाहरूको खेल प्रतिभा विकास र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजक एफ.सी. डाँफे स्पोर्ट्स क्लबले जनाएको छ। प्रतियोगिता अन्तर्गत मंगलबार वडा नम्बर १ ‘ए’ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुनेछ।






