बढैयाताल-१ सानो डाँफेमा तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

|

सोम गुरुङ, बर्दिया ।एफ.सी. डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।

आज भएको उद्घाटन खेलमा वडा नम्बर १ ‘ए’ र वडा नम्बर १ ‘बी’ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको आयोजकले जनाएको छ। सो खेलमा वडा नम्बर १ का खेलाडी बिरेन्द्र कार्की र अभिषेक थापाले एक–एक गोल गर्दै टिमलाई विजय दिलाउन सफल भएका थिए।
वडा नम्बर ५ आजको खेलमा सहभागी हुन नसकेका कारण निर्धारित प्रतिस्पर्धा हुन नसकी मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। आज हुन नसकेको खेल आगामी माघ १२ गते खेलाइने पनि आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो खेल वडा नम्बर ४ र वडा नम्बर ८ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर १ ‘बी’ र वडा नम्बर ७ बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर थापा क्षेत्रीले उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ र तन्दुरुस्त जीवनशैली अपनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

२०८२ माघ १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।