नेपालगन्ज । आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को तयारी नेपालगन्जमा तीव्र पारिएको छ । पुष ३० गतेदेखि सुरु हुने महोत्सवको उद्घाटनमा अब दुई दिन मात्र बाँकी रहेकाले आयोजकले व्यवस्थापन, मञ्च निर्माण, स्टल सजावट र सांस्कृतिक कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव आयोजना हुन लागेको हो । महोत्सव पुष ३० गतेदेखि माघ १० गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ ।
आयोजक मूल समितिका संयोजक समरबहादुर खत्रीका अनुसार महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि तथा पर्यटन क्षेत्रको विकास र उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउनु रहेको छ । “महोत्सवलाई सबै वर्ग र समुदायको साझा उत्सव बनाउने हाम्रो प्रयास हो,” संयोजक खत्रीले बताउनुभयो ।
महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, गायक कमल बिसी माल्दाइ, गायीका सृजना खत्री, लोकप्रिय गायिका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, गायीका प्रीति आले, गायक बद्री पंगेनीलगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरूलाई पनि प्राथमिकता दिइनेछ ।
व्यापारिक तथा मनोरञ्जनात्मक दृष्टिले महोत्सव थप आकर्षक बनाउन लण्डन ब्रिज, जलपरी, फिस टनेल जस्ता विशेष संरचना निर्माण गरिएको छ । साथै विभिन्न प्रकारका व्यापारिक स्टल, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामाग्री प्रदर्शन गरिनेछ । थारु गाउँको झल्को दिने संरचना समेत निर्माण गरिएको हुँदा दर्शकले स्थानीय संस्कृतिको अवलोकन गर्न सक्नेछन् । थारु गाउँमा थारु परिकारको श्वाद समेत लिन सकिने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिता माघ ४ गतेदेखि सुरु हुने र सहभागिताका लागि निःशुल्क फारम भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसले बालबालिका तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सांस्कृतिक कार्यक्रमको उद्घोषण तिलक गाउँले, ओबीराज आचार्य, समिरमान श्रेष्ठ, ममता थापा र आरजे राजकोटीलगायतले गर्ने सांस्कृतिक समितिका संयोजक मिना डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक दिन फरक–फरक सांस्कृतिक कार्यक्रम राखेर दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गरिनेछ ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता चौधरीले गर्नुहुनेछ । उद्घाटनको अवसरमा विभिन्न समुदायको झाँकीसहितको सांस्कृतिक ¥याली धम्बोझी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुग्नेछ ।
आयोजकले महोत्सवले नेपालगन्जको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ । स्थानीय व्यवसायी, उद्योगी, कृषक तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई लाभ लिन आयोजकले आग्रहसमेत गरेको छ । महोत्सव १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।






