नेपालगन्ज । Women Empowered through Community and Resilience Enhancing Health Systems (WE CARE) परियोजनाले समुदायस्तरमा महिला सशक्तीकरणसँगै स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। WE CARE परियोजना अन्तर्गत बाँके जिल्लाका विभिन्न पालिकाहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन भइरहेका छन्। परियोजनाले प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरी तथा महिलाको स्वास्थ्य, परिवार नियोजन, पोषण, नसर्ने तथा दीर्घकालीन रोग र प्राथमिक स्वास्थ्य सेवाका विषयमा जनचेतना अभिवृद्धि गर्दै आएको छ।

स्वास्थ्य सेवामा पहुँच कमजोर रहेका समुदायलाई लक्षित गर्दै परियोजनाले स्वास्थ्य सेवा उपयोग बढाउन, स्वास्थ्यसम्बन्धी व्यवहार परिवर्तन गर्न तथा स्थानीय स्वास्थ्य संस्थाको क्षमता विकासमा सहयोग पुर्याइरहेको छ। साथै, समुदायस्तरमा स्वास्थ्य स्वयम्सेवक, महिला समूह र स्थानीय अगुवासँग सहकार्य गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइँदै आएको छ।

बाँके, बर्दिया लगायतका जिल्लामा सञ्चालनमा रहेको WE CARE परियोजनाले स्थानीय सरकारसँग समन्वय गर्दै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने उद्देश्य लिएको छ। परियोजनाले समुदायमै आधारित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरी जोखिममा रहेका महिला तथा परिवारलाई लक्षित सेवा प्रदान गरिरहेको जनाएको छ। यस परियोजनाले स्वास्थ्य सेवा पहुँचमा सुधार, समुदायको सचेतनामा वृद्धि र महिला सशक्तीकरणमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन्।

तालिमको प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यले समुदायमा सक्रिय भएर काम गर्न सल्लाह सुझाव दिनुभयो त्यसैगरी विशिष्ट अतिथि निर्धनका क्षेत्रीय कार्यालय प्रमुख मिनबहादुर हमालले यो परियोजनाले सीमान्तकृत महिलाहरुलाई लक्षित गरी अघि बढाएको बताउनुभयो साथै त्यसैगरी निर्धन उदयपुर शाखाका शाखा प्रमुख उमानन्द तिमिल्सिनाले महिलाहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण परिवर्तन ल्याउनमा यस परियोजनाले मुख्य भूमिका खेल्ने बताउनुभयो । यो तालिमको सहजीकरण पुष्पराज भट्ट र फिल्ड म्यानेजर रेमन बुढा क्षेत्रीले गर्नुभएको छ।






