गुलरिया। बर्दिया अस्पताल गुलरियाको सामाजिक परिक्षण बास नेपालको सहजिकरणमा कार्तिक २८ गते सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को सामाजिक परिक्षण कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय भुवनेश्वर थारुले बर्दिया अस्पतालको सेवा प्रवाह उत्कृष्ट रहेकोमा खुसी ब्यक्त गरे ।
अस्पतालले नियमित सामाजिक परिक्षण लयायत कार्य गर्दा अस्पतालको सुशासन र नागरिक उत्तरदायित्व देखिएको उनको भनाई थियो । अस्पतालको समर्ग विकासका लागि आवश्यक पहल गर्ने उनले प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य माननीय राज कुमार थारुले अस्पतालको सेवा सुधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै अतिथि बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा प्रदेश मै उत्कृष्ट भएकोमा खुसी लागेको बताए ।

हरेक सार्वजनिक निकायका लागि सामाजिक परिक्षण जस्ता सामाजिक जवाफदेहिताका औजारहरु महत्वपूर्ण हुने भएकाले अस्पतालको असल कार्यको अन्य कार्यालयहरुले समेत सिको गर्नुपर्ने बताए । अस्पतालको समग्र सेवा प्रवाहकालागि सधै सहयोगरत रहने प्रजिअ हमालको प्रतिबद्धता थियो । सो क्रममा स्वास्थ्य निर्देशनालयका कृष्ण गोपाल चौधरी, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रशाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रममा सामाजिक परिक्षण, उद्धेश्यहरु, अवलम्बन गरिएका बिधिहरु र सामाजिक परिक्षणको क्रममा प्राप्त तथ्यहरुको बारेमा प्रारम्भिक प्रतिबेदन प्रस्तुतीकरण बास नेपालका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले गरेका थिए । सामाजिक परिक्षणमा अतिथि तथा सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्दै बर्दिया अस्पताल गुलरियाका प्रमुख डा. सुभाष पाण्डेयले दक्ष जनशक्ति लगायत अत्यावश्यक बिषयमा पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुलाई अनुरोध गरे । अस्पतालको सेवा प्रवाहलाई छिटो छरीतो र सेवाग्राही मैत्री बनाउन निरन्तर लागि परेको बताउदै अस्पताल विकासमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । सामाजिक परिक्षणमा उठेका बिषयहरु अस्पताल सुधारका लागि महत्वपूर्ण हुने भन्दै यथासक्य सुधारका लागि कार्य गर्ने उनको प्रतिबद्धता थियो । अस्पतालका लेखापाल भिम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सरोकारवाला र आम नागरिक गरी ११० बढीको सहभागिता रहेको थियो ।






