नेपाल प्रेस युनियनले तीज बिशेष लगायत कार्यक्रम गर्ने 

|
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले यस वर्ष पनि तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।
प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हाे ।
शाखाले बैठकबाट गरेकाे दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयाेजना गरिने निर्णय भएकाे अध्यक्ष ढकालले जानकारी दिनुभयाे । जस अन्तर्गत शाखाले यस वर्ष हरितालिका तीज पर्वको अवसरमा `तीज मिलन तथा लेखनवृत्ति´ प्रतियोगिता गर्ने भएकाे छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेकाे छ ।
साे कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरेकाे छ । संयाेजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहनुभएकाे छ ।
यस्तै लेखनवृत्ति प्रतियोगिता तथा तीज विशेषांङ्क युनियन बुलेटिनका लागि सचिव लोधको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे छ । समिति सदस्यहरूमा खडक खत्री, शुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एस के रहनु भएकाे छ ।
शाखाले तीजको मौलिकता र तीज सम्बन्धि महिला पत्रकारहरुद्वारा लेखिएका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरष्कृत गर्नेछ । त्यसका लागि सहभागी हुनेहरूले प्रतियोगिहरुले यही साउन महिनाको ३० गतेसम्मभित्र युनियनको इमेल ठेगाना npu.banke@gmail.com मा आफ्ना लेख तथा फिचर पठाइसक्नु पर्ने निर्णय गरिएको सचिव लाेधले बताउनुभयाे ।
त्यस्तै युनियनका अग्रज निरज कुमार गाैतमकाे संयाेजकत्वमा ३ सदस्यीय समिति पनि बनाईएकाे छ । उक्त समितिमा कमल खत्री र किरण आचार्य रहनु भएकाे छ ।
दाेस्राे निर्णय अन्तर्गत युनियन केन्द्रकाे निर्णयअनुसार ´सय दिने सदस्यता विशेष अभियान` जिल्लाले पनि प्रारम्भ गरेकाे छ । यस अभियान अवधिमा नयाँ साधारण सदस्यका लागि सदस्यता खुल्ला गरिएको छ भने नवीकरणका लागि सबै सदस्यहरुलाई आग्रह गरिएको छ ।

२०८२ श्रावण १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।