युवा अभियान्ता अर्णव चौधरी राष्ट्रिय युवा परिषद्‌को सदस्यमा नियुक्त

|

काठमाडौ । सामाजिक युवा अभियान्ता दाङ जिल्लाका अर्णव चौधरी राष्ट्रिय युवा परिषद्‌को सदस्यमा नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार आयोजित कार्यक्रममा चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
युवाका सवालमा योगदान पुऱ्याएको भन्दै राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (१) को खण्ड (ठ) बमोजिम नियुक्त गरिएको हो। ‘सोही ऐनको दफा ५ को उपदफा (४) बमोजिम चार वर्षको पदावधि रहने गरी युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय युवा परिषद्‌का अध्यक्षको मिति २०८२।०१।०८ गतेको निर्णयानुसार मनोनयन गरिएको छ,’ पत्रमा भनिएको छ, ‘तपाईंले आफ्नो कार्य अवधिमा युवा सम्बद्ध ऐन, नियम तथा प्रचलित कानुनको परिधिभित्र रही आफूलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुहुनेछ भन्ने विश्वास छ।’

अधिवक्तासमेत रहेका चौधरीले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर युवाको क्षेत्रमा काम गर्दै आएका छन्। उनले जलवायु परिवर्तनका मुद्दामा युवाहरूको भूमिका विषयमा पनि पैरवी गर्दै आएका छन्। थारु विद्यार्थी समाजको उपमहासचिवसमेत रहरेका चौधरीले थारु समुदायको मुद्दामा पनि सक्रिय छन्। थारुहरुको सांस्कृतिक र राजनीतिक मुद्दामा पनि उनले उल्लेख्य भूमिका खेल्दै आएका छन्।

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।