
पितृदेवो भवः अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
आजको दिन पिताप्रति आदर सम्मानका साथ मिठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।नेपाली संस्कारमा हरेक यस्ता दिनहरुले बिशेष महत्व बोकेको हुन्छ ।
गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरुले हिन्दु परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।बाबु हुनेले प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्ने, दु:ख सु:ख साट्ने, माया एंव सदभाव बाड्ने र बाबुको याद गर्ने दिन जसलाई कुशे औंसी भनिन्छ ।
यसै सन्दर्भमा कानमा बुबाले संसार छोड्नुको दुई दिन अघि भन्नुभएको अविस्मरणिय शब्द गुञ्जिरहेको छ “छोरी तिमी हाम्रो एक्ली सन्तान मात्र हैन, यो हाम्रो समाजको प्रतिनिधिमुलक पात्र बन्न सक्नुपर्ने छ र तिमीले उच्च शिक्षा हासिल गरेको देख्न मन छ”।
साथै बुबा हजुर स्वर्गारोहण हुनु अघि मलाई भन्नुहुन्थ्यो छोरी तिमीले हाम्रो लागि छोरा सरह भएर अगाडी बढ्नु र म मरेर गएपनि म तिमी संगै हुन्छु , सबै देख्न सक्छु भन्नु भएको ति शब्दहरु आज अन्तरमन भित्र खेलिरह्यो ।
मलाई थाहा छैन बुबा हजुरले ति सबै देख्नुहुन्छ कि हुदैन तर मैले भने हजुरको ति अविस्मरणिय शब्दहरुलाई आत्मसात गर्दै मनभित्र जिवनका धेरै योजनाहरुलाई पुरा गर्ने सपना बोकेर अठोटका साथ सकारात्मक तर्फ बढिरहेको छु र जीवनमा आईपर्ने चुनौतीहरुलाई अगाल्दै आफ्नो लक्ष्य पुर्तीको लागि नै मातृभूमि भन्दा टाढा छु भौतिक रुपमा देख्न, कुराकानी गर्न नपाएपनि दुख र सुखको क्षणमा सम्झिने गरेकी छु।
बाबा हजुर सँग बितेका ति तितामिठा पलहरुको सम्झना राख्न चाहन्छु, भौतिक शरिर नरहेपनि बिशुध्द अन्तरआत्मा देखी शब्दको गुच्छाले पुज्न चाहन्छु र प्रवासमा दुखको महसूस हुँदा तथा कहिलेकाही मनमा घाउ लाग्दा जीवन सघर्षको हरेक क्रममा याद गर्न चाहन्छु साथै त्यो दयालु आत्मा र म प्रतिको न्यानोपनलाई सलाम गर्दै निर्दोष माया गर्दछु।
नेपालको हिमालीभेग दोलखाको तामाङ समुदायबाट छुट्टै संघर्ष गर्दै यहांसम्म आईपुग्न मैले थुप्रै अफ्ठेराहरु खेपेकी छु।विभिन्न चुनौतीहरुको बाबजुत पनि बुबा हजुरको ठुलो सपना विध्याबारिधि चांडै हासिल गर्ने क्रममा छु।
अन्त्यमा जीवनमा जुन चिज आफ्नो साथमा हुन्छ त्यसबेला महत्व हुदैन, जब अभाव हुन्छ त्यतिखेर त्यसको अत्यन्तै महत्व हुन्छ यो मेरो भोगाई हो र बुवालाई विशेष सम्मान गरिने यो कुशे औशीको अवसरमा सबैजनालाई हार्दिक शुभकामना !!