जुम्ला / प्लान इन्टरनेशनल नेपाल तथा आत्मसम्मानकालागि सहकार्य (क्याड नेपाल) जुम्लाको सहकार्यमा सञ्चालित चाँडो विवाह, बाल विवाह तथा दवाबमा हुने विवाह विरुद्ध सञ्चालन गरिएको परियोजना अनुरुप कनकासुन्दरीमा गाउँपालिका तथा सिँजा गाउँपालिकामा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना को समीक्षात्मक कार्यशाला गोष्ठी तथा बजेट सहितको ४ दिने कार्यान्वयन कार्ययोजना निर्माण गरिएको छ । उक्त कार्यशालाहरुमा गाउँपालिकाहरुका २५ जना सरोकारवालाहरुले सहभागिता जनाउनु भएको थियो ।
कनकासुन्दरीमा गाउँपालिकामा बाल विवाह अन्त्यको अभियानकालागि ६३,००,००० बराबरको बजेट कार्ययोजना अगाडि बढाउने प्रतिबद्धता गरिएको जानकारी क्याड नेपालका फिल्ड अधिकृत देवेन्द्र आचार्यले जानकारी गराउनु भयो । बाल विवाह को कुचक्रबाट किशोर तथा किशोरीहरुलाई बचाउनुकालागि किशोर/किशोरीहरु र अभिभावकहरुको बीचमा अन्तरसँवाद गर्नु पर्ने र धार्मिक गुरुहरुबीच निगरानी समुहको माध्यमबाट जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने सरोकारवालाहरुको कार्ययोजना भित्र रहेकोले आ.व. २०७८/०७९ को बजेट भित्र भागी विवाह न्युनीकरणलाई केन्द्रित गरी क्रियाकलाप सञ्चालन गर्ने कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैन सिह बुढाले प्रतिबद्धता जाहेर गरिएको जानकारी गराउनु भयो । त्यसैगरी सिंजा गाउँपालिकामा बाल विवाह न्युनीकरणकालागि ७४,९०,००० को कार्ययोजना निर्माण गरिएको छ । उक्त बजेट आ.व. २०७८/०७९ का लागि विनियोजन गरिने र बाल विवाह मुक्त गाउँपालिका बनाउनुकालागि सिंजा गाउँपालिकाले बालबालिकाका क्षेत्रमा काम गर्ने क्याड नेपाल, पेस नेपाल तथा किर्डाक नेपाल लगायत बाल क्लब, किशोरी क्लब, युवा क्लब तथा निगरानी समुह परिचालन गरि पालिकास्तरीय बाल अधिकार समितिले अगुवाई गर्ने जानकारी गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्रीले प्रतिबद्धता गरिएको बताउनु भयो । सिंजा गाउँपालिकाको ३ वर्षे रणनीतिक कार्ययोजनाको समीक्षात्मक गोष्ठीलाई नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुगले गर्नु भएको थियो । त्यसैगरी कनकासुन्दरी गाउँपालिकाको कार्यशालालाई बाल अधिकारकर्मी जगदीश थापाले सहजीकरण गर्नु भएको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कनकासुन्दरी, सिंजा तथा हिमा गाउँपालिकाहरुमा चाँडो विवाह, बाल विवाह तथा दवाबमा हुने विवाह विरुद्ध सञ्चालन गरिएको परियोजनाबाट पालिकामा हुने विभिन्न क्रियाकलापहरुलाई टेवा पुर्याउने गरी बालबालिका, किशोर, किशोरी, अभिभावक, धार्मिक गुरु र सरोकारवालाहरुलाई बाल संरक्षण सयन्त्र अन्र्तगत परिचालन गरि समाजमा परम्परागत हानिकारक अभ्यासहरुको निर्मूलीकरण गर्दै क्याड नेपालको सहजीकरण तथा सहकार्यमा वडा तथा पालिकाहरुलाई २०७९ भित्रमा बाल विवाह मुक्त गर्न सहजीकरण गर्ने क्याड नेपालका कार्यक्रम संयोजक सोमराज जीसीले बताउनु भयो ।






