रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

|

रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ जलजलामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइतेहरुको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा बस सडकदेखि करिब एक सय फिट तल माडी खोलामा खसेको हो । प्रहरी जाँचमा बसमा १० जना भएको पाइए पनि बाटोमा थप मानिस पनि चढाएको हुन सक्ने कार्यालयले जनाएको छ ।

२०७८ मंसिर २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।