नेपालगंज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा ३ दिने दु्त लेखाजोखा तथा आधारभूत मानवीय सहायता सम्बन्धि तालिम नेपालगंजमा शनिवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालन भएको उक्त तालिममा ८ वटै स्थानीय तहका विपद् फोकल पर्सन, नेपाल प्रहरी र स्थानीय नेपाल रेडक्रस सोसाइटी उपशाखाका प्रतिनिधि गरी २९ जनाको सहभागिता रहेको थियो ।
विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले तालिम आयोजना गरिएको हो ।
शुभारम्भ कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, सदस्य यमनारायण महतो, उपनिर्देशक दोलबहादुर डाँगी लगायतले विचार व्यक्त गर्नु भएको थियो भने समापन कार्यक्रम नेरेसो बाँके शाखाका का.बा. सभापति शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र जानकी गा.पा. विपद् फोकल पर्सन राजेन्द्र बाजपाई लगायतले मन्तव्य राख्नु भएको थियो ।
तालिमको सहजकर्ताहरुमा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय ,नेरेसो केन्द्रका विनोद लमिछाने नेरेसो बाँकेका निरञ्जना मल्ल, रुपन ज्ञवाली, झवीलाल शर्मा र प्रहलाद विश्वकर्मा रहनु भएको थियो ।






