साइबर क्राइमको दुनियाँ खतरनाक छ, सावधान !

|

अब्दुश मियाँ /  मैले सामाजिक सञ्जाल चलाउन थालेको दश वर्ष भयो। तर यतिका समयपछि पहिलोपटक यस्तो घटना र अपराधिक मानसिकताको शिकार बनेँ। मजस्ता अरु युवा शिकार नबनुन् भनेर पोष्ट गर्दैछु। सार्वजनिक व्यक्ति त्यसमाथि पनि राजनीतिमा सक्रिय भएकाले म आफूले चिनेरनचिनेका अधिकांशको फेसबुक फ्रेन्ड रिक्वेस्ट मिलेसम्म स्वीकार गर्छु।
हिजो त्यस्तै भयो । प्रियंका राओ नाम गरेकी युवतीको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। सामान्य रूपमा हेर्दा फेक प्रोफाइल जस्तो पनि लागेन। मैले सधैँझैँ फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेँ।

सामान्य परिचय नहुँदै उनले मसँग मेरो ह्वाट्स एप नम्बर मागिन्। मेरो वेबसाइट, फेसबुक पेजलगायत सबैजसो सामाजिक सञ्जालमा मेरो मोबाइल नम्बर सार्वजनिक रहेका कारणले मलाई त्यो पनि सहज नै लाग्यो, मैले ह्वाट्सएप नम्बर पनि दिएँ । केही मिनेट नबित्दै ह्वाट्स एपमा नयाँ नम्बरबाट फोन आयो। मैले फोन उठाएँ, भिडियो कल रहेछ। स्क्रिनमा देखिएकी अन्दाजी २१ वर्षकी ती युवती आफ्नो कपडा खोल्न थालिन् र हेर्दा हेर्दै निर्वस्त्र भइन्।

एकछिन त मैले केही सोच्न, विचार गर्नै सकिनँ। जीवनमा पहिलो पटक यस्तो घटना भैरहेको थियो। अप्रत्याशित रूपमा यस्तो घटना भएपछि कसरी रेस्पोन्ड गर्ने भेउ नपाइँदो रहेछ। मैले भिडियो अफ गरेँ र लगत्तै कल काटेँ।

मैले कल काटेपछि केही मेसेज आए जसमा मलाई फेरि कल अटेन्ड गर्न प्रस्ताव गरिएको थियो। मैले मानिनँ। यतिन्जेल मलाई यो कुनै उग्र यौन चाहना भएकी युवतीको प्रयास हो भन्ने लाग्यो। कहाँ फसियो बनेर दिमाग रन्थनिएको थियो।

एकैछिनमा ह्वाट्सएपमा एउटा भिडियो आयो। खोलेर हेरेँ। त्यसमा भर्खरै भएको करिब एक मिनेटको भिडियो कल र कसैको ५० सेकेन्ड जतिको हस्तमैथुनको भिडियो जोडेर, मेरो नाम, मोबाइल नम्बर सहित भिडियो बनाइएको रहेछ। भिडियो हेर्दाहेर्दै अर्को मेसेज आयो, भिडियो डिलिट गर्न पैसा लाग्छ, पैसा नदिए भिडियो भाइरल।

करिब १५ मिनेटभित्र यो सम्पूर्ण घटना भयो । अब मलाई लगातार धम्कीपूर्ण मेसेज आउन थाले, घरि ५ मिनेटभित्र पैसा देऊ घरि १० मिनेटभित्र, अन्याथा भिडियो भाइरल हुन्छ भनेर।

यतिन्जेल मेरो फेसबुकमा रहेका करिव पाँच हजार जना साथीहरूको विवरण उनीहरूसँग थियो, यो भिडियो अझै एडिट गरेर सबैलाई पठाइदिन्छौँ भनेर धम्क्याइरहेका थिए।

यता मेरो मनस्थिति एकाएक यति कमजोर बन्यो कि के गर्ने, के नगर्ने, मैले निर्णय गर्नै सकिनँ। म उनीहरूलाई जवाफ पनि फर्काउन सकिरहेको थिइनँ। उनीहरू घरिघरि भन्थे, ‘तिमीलाई आफ्नो प्रेस्टिजको कुनै मतलब छैन ।

यतिन्जेल यो घटना राम्रोसँग सोचविचार गरेर रचिएको हो भन्ने मैले चाल पाइसकेको थिएँ। उनीहरूले मलाई इण्डियाको यस बैंकको खाता दिए र २१ हजार भारतीय रूपैयाँ डिपोजिट गर्न निर्देशन दिए।

नेपालबाट पैसा पठाउन मिल्दैन, पैसा चाहिन्छ भने एक हप्ता कुरु भनेर मैले लेखेँ। यस्तो समयमा के गर्नुपर्छ भन्ने निर्णय गर्न नसकेपछि समय लम्ब्याउन मैले त्यसो गरेँ। उनीहरूले मलाई २४ घण्टाको समय दिएका छन्।

आज बिहान उठेर दिल्लीको एकजना साथीलाई फोन गरेँ र घटना सुनाएँ। आफ्नो नजिकको अर्को साथीलाई यस्तै अपराधिक गिरोहले गत हप्तामात्रै ब्ल्याकमेल गरेर लाखौँ रूपैयाँ असुली सकेको र अन्त्यमा भिडियोसमेत सार्वजनिक गरिदिएको खबर उनले सुनाए ।

भारतमा विभिन्न गिरोहहरू यसरी सक्रिय भएको र नेपालका सार्वजनिक छबि भएका युवाहरुलाई टार्गेट गरेर उनीहरूले ब्ल्याकमेल गरिरहेको जानकारी पाएपछि मैले आम जनचेतनाका लागि यो पोष्ट लेखेको हुँ।

सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा विधिको अवलम्बन गर्न चुकियो भने यस्ता अपराधिक गिरोहहरूको फन्दामा परिने रहेछ। विचार पुर्याऔं है।

म, नेपाल प्रहरी, नेपालको इन्फर्मेशन टेक्नोलोजी सेक्टरका साथीहरू तथा अन्तर्राष्ट्रिय समुदायका इथिकल ह्याकरहरूसँग मिलेर यो गिरोहलाई समात्ने र कानुनी दायरामा ल्याउने प्रयास गर्नेछु ।
तपाईं आफू भने सुरक्षित रहनुहोला है।

२०७८ आश्विन ३१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।