काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंको धोबी खोला कोरिडोर आसपासका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण पानी जाने निकास नहुँदा त्यस क्षेत्र डुबानमा परेको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा धोबी खोलाको बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बनेको छ । केही घरमा पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ । खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवागमनमा समस्या भएको छ ।
पुरै क्षेत्र डुबानमा परेपछि प्रहरीको आग्रहमा आज विहान ४ः३० बजेदेखि ६ः२० बजेसम्म विद्युत काटिएको बानेश्वर नो लाइटले जानकारी दिएको छ । धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइएको भनिए पनि पानी निकास हुने ठाँउ नभएपछि त्यस क्षेत्र डुबानमा पर्दै आएको छ । त्यसैगरी पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।
गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोविखोला लगायतका खोलाहरुमा ठूलो बाढी आएको छ ।काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ ।






