बालविवाह मुक्त घोषणा गर्ने बारे सरोकारवालाबीच बृहत छलफल

|

नेपालगन्ज / जिल्ला बालअधिकार समिति बाँकेले फागुन महिना भित्र बाँके जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने तीब्र तयारी गरिरहेको छ । स्याक नेपालको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा यही शनिबार नेपालगन्जमा आयोजना भएको बालविवाह अन्त्यका लागि जिल्ला स्तरीय नीति २०७८ को मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल भएको छ । सो नीतिको सहजीकरण भिम अवस्थीले गरेका थिए ।

यही फागुन मसान्तभित्र बाँकेलाई बालविवाह मुक्त घोषणा गर्ने बारे स्याक नेपालले बाँकेका स्थानीय तहसँग समन्वय र सहकार्य गरिरहेको छ । जिल्ला समन्वय समिति, बाँकेका प्रमुख तथा जिल्ला बाल अधिकार समितिका संयोजक अजयकुमार श्रीवास्तवले लक्ष्य अनुसार काम गर्न सकेमा बाँके देशकै पहिलो बालविवाह मुक्त जिल्ला हुने दाबी गरेका थिए । फागुन मसान्तभित्र बालविवाह मुक्त घोेषणा गर्ने सबै स्थानीय तहलाई १० लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा समेत गरेका थिए ।

कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तह, बालक्लब, किशोरी क्लब, अधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । बाँकेमा ८१ वटा वडा रहेकोमा अहिलेसम्म जिल्लाका नेपालगन्ज उपमहानगरपालिकाका र जानकी गाउँपालिकाकाका चार चार, कोहलपुर नगरपालिकाका तीन, बैजनाथ र खजुरा गाउँपालिकाका दुई दुई वडा गरी १५ वटा मात्र बालविवाह घोषणा भई सकेका छन् ।

२०७८ भाद्र १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।