?दाङ । दाङमा प्रतिबन्धित वन्यजन्तु चितुवाको छाला सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर देखि लमही तर्फ अवैध रूपमा चितुवाको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी अमिलियाको संयुक्त टोलीले प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको सेतो कारलाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला सहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आईतवार कारको पछाडिको सिटमा गुलाबी खैरो रङको झोला भित्र अवैध रूपमा वन्यजन्तु चितुवाको तीन थान छाला र ओसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षिय बिमल औजी, सोही ठाउँ निवासी २८ वर्षिय प्रदिपकुमार विक र सोही ठाउँ निवासी २० वर्षिय हेमन्त औजी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेबाट प्रहरीले प्रतिबन्धित चितुवाको छाला जस्तो देखिने ९ठुलो पुच्छर देखि टाउँकोसम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टाको बिचको भागको चौडाई ४ फिट ७ ईन्च भएको छाला १ थान, टाउको देखि पुच्छर सम्मको लम्बाई २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउको सम्मको लम्बाई २ फिट भएको २ वटा साना गरि जम्मा छाला ३ थान छाला बरामद गरेको हो ।
प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको सुजुकी कम्पनिको सेतो रङको कार र स्यामसुङ् मोबाईल २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






