सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्नेमा किशोरीहरुको जोड

|

डुडुवा / डुडुवा गाउँपालिकाका किशोरीहरुले सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा डुडुवा गाउँपालिका वडा नं.५ को समन्वयमा भएको प्रविधिको सुरक्षित प्रयोग र साईबर कानुन बारे अभिमुखीकरण कार्यक्रममा किशोरीहरुले ईन्टरनेट र सामाजिक सन्जाललाई सही प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो तालिमको सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङ्गले कम्प्युटरको आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । स्याक नेपालका सुपरभाईजर आकृति यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । कोभिडबाट सुरक्षितको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो ।

डुडुवा गाउँपालिका वडा नं. ५ मा गठित जनचेतना किशोरी क्लबका अध्यक्ष दिलमाया विक आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि अर्का सहभागी विनिता भण्डारीले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बतार्यन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।

२०७८ श्रावण २८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।