कोभिड बिरुद्ध खोपको व्यवस्था गर्न गैसस महासंघको माग

|

नेपालगन्ज । कोभिड- १९ प्रतिकार्यका लागि अग्रपंतिमा रहेर खटिरहेका गैससकर्मीहरुलाई कोभिड बिरुद्ध खोपको व्यवस्था गर्न गैसस महासंघ नेपाल बाँकेले माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध पत्र बुझाउँदै महासंघले खोपको माग गरेको हो ।
कोभिड जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि नागरिक समाजबाट पहल भईरहेको उल्लेख गर्दै महासंघले अग्रपंतिमा रहेर काम गर्ने गैससकर्मीहरुलाई खोपको व्यवस्था गर्न माग गरेको छ । महासंघका अध्यक्ष नमस्कार शाहले बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई अनुरोध पत्र बुझाएका थिए । बुझाईएको अनुरोध पत्रमा बाँके जिल्लामा कोभिडको पहिलो कहर देखिनैं कोभिड प्रतिकार्यका लागि बाँके स्थित गैरसरकारी संस्थाहरुले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै डिसिसिएमसि, विभिन्न अस्पताल, विभिन्न पालिका, आईसोलेसन सेन्टर र स्वास्थ्य संस्थाहरुलाई विभिन्न उपकरण सहित स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको स्मरण गराएको छ ।
अनुरोध पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले गैससकर्मीहरुका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । अनुरोध पत्र हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल, बाँकेका सदस्य लोगबहादुर परियार लगायतको सहभागिता रहेको थियो ।

२०७८ श्रावण १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।