बाँके । नेपालगन्ज उपमहनगरपालिका–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित बाँके प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिकहरुले नेपालगन्जमा कोठा भाडामा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य सार्वजनिक भएको छ । लागुऔषध ब्यूरोको टोलीले शुक्रबार राति नेपालगन्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगन्ज–११ टाँगा स्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मधुशुधन न्यौपानेका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजु र दिल्ली क्राइम नेशनल न्युज पेपर लेखेको सलमान खानको नाममा रहेको प्रेस कार्ड समेत बरामद भएको छ । पक्राउ परेका तीनै जना माथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ ।






