मदिरा सेवनबाट चार जना मजदुरको मृत्यु

|

बागलुङ । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा चार जना मजदुरको मृत्यु भएको छ । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले गएराति मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

मजदुरी गर्दै आएका १४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल स्थानीय मदिरा, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा फर्केपछि बिरामी परेको पाइएको डिएसपी हवारीले बताउनुभयो । उहाँका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।

मदिरा सेवन गरी फर्कीने क्रममा बिरामी परेका उनीहरूलाई जनप्रतिनिधी तथा स्थानीयको सक्रियतामा ईमरजेन्सी पोलिक्लीनिक हटियामा उपचारको लागि गए राति नै ल्याइएको थियो । पोलिक्लिनीकमा आउदा उनीहरूको अवस्था गम्भीर रहेकोले तत्कालै धौलागिरि अस्पताल रिफर गरेको थियो ।

रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको धौलागिरी अस्पतालमा उपचार गरि थप उपचारको लागी पोखरा रिफर गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

२०७८ श्रावण ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।