भिजिट नरैनापुर २०२१ सञ्चालन हुदै

|

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाले भोलि पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जाने चाँजोपाँजो मिलाएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको सन्नानेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागि भोलि त्यहाँ पुग्ने कार्यक्रम मिलाइएको हो ।

‘हामीले अभियानकै रुपमा भिजिट नरैनापुर २०२१ सञ्चालन गर्दैैछौं, भोलि साउन २ गते शनिवार नरैनापुरको प्रवेशद्वार वडा नम्बर ६ कोहलामा आन्तरिक पर्यटकहरुको स्वागत गर्छौं, त्यहाँबाट रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुग्ने कार्यक्रम छ, नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिका प्रयासरत छ’, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भन्नुभयो ।

गाउँपालिकाले यो लगायत अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचारप्रचारका लागि बजेट पनि विनियोजन गरेको छ । ‘नरैनापुरलाई चिनाउने ठाउँहरुको प्रचारप्रचारका लागि हामी रत्तिभर पनि कञ्जुस्याइँ गर्दैनौं, त्यसैको अभियान स्वरुप भोलिको कार्यक्रम हो, म सबैलाई सन्तानेश्वर महादेव मन्दिरको दर्शनका लागि आह्वान गर्छु’, गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो ।

पछिल्लो समय स्वतःस्फुर्त ढंगले नेपालगञ्जबाट मानिसहरु रमणीय पर्यटकीय स्थल सन्तानेश्वर महादेवको दर्शनका लागि जान थालेका छन् । ‘विस्तारै मानिसहरुको फ्लो बढेको छ, यो खुसीको कुरा हो, अब हामी झन सशक्त ढंगले यसको प्रचारप्रसारका लागि लाग्छौं’, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो ।

यो मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् ।

२०७८ श्रावण १, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।