नेपालगन्जका थप दुई वडा बाल विवाह मुक्त घोषणा

|

नेपालगञ्ज । नेपालगञ्जका थप दुई वटा वडा बाल विवाह मुक्त घोषणा भएका छन् । बिहीबार एक औपचारिक कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ र २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेको सभा हलमा भएको घोषणा समारोहमा बाल अधिकार समिति एव वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजाल वडा न २ का वडा अध्यक्ष सुनिल हमालले वडालाई बाल विवाह मुक्त भएको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपालगञ्जका नगरप्रमुख डा. धवल शम्शेर राणा, उपमहानगरपालिका स्तरीय बाल अधिकार समितिका संयोजक नेपालगञ्जकी उपमेयर उमा थापा, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, सामुदायिक सेवा केन्द्रका दिपेन्द्र जोशी, सामाजिक सचेतन सरोकार मञ्चका परियोजना प्रबन्धक जगदिश थापा लगायतको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका स्तरीय बाल अधिकार समिति, वडा कार्यालय, प्लान इन्टरनेशल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को समन्वय सहकार्यमा बाल विवाह मुक्त घोषणा गरिएको छ ।

स्याकद्धारा संचालित बाल विवाह मुक्त परियोजनाका प्रबन्धक जगदिश थापाका अनुसार नेपालगञ्ज वडा नं १ मा वार्षिक कुल विवाहको १३ दशमलव ५५ प्रतिशत र वडा नं २ मा वार्षिक कुल विवाहको १३ दशमलव ६९ प्रतिशत बाल विवाहको अवस्था देखिएको छ ।

बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७७ मा बाल विवाह मुक्त घोषणा गर्नका लागि निर्देशिकामा भएको १३ वटा सूचकहरु पुरा भएको र त्यसमध्येको २० प्रतिशत भन्दा कम बाल विवाहको अवस्था देखिएपछि वडालाई बाल विवाह मुक्त घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।

सोही अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो । यसअघि गत २६ गते शनिबार पनि नेपालगञ्जको वडा नं १० र १२ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । यससंगै नेपालगञ्जका चार वटा वडा बाल विवाह मुक्त घोषणा भएका छन् ।

२०७८ असार ३१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।