नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १० र १२ बाल विवाह मुक्त घोषणा

|

बाँके / नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १० र १२ लाई आज एक बिशेष समारोह विच बाल विवाह मुक्त घोषणा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाकै पहिलो वडाका रुपमा घोषणा भएको हो । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आर्थिक सहयोगमा बाँके जिल्लामा बाल विवाह रोकथाम परियोजना सन्चालन भईरहेको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, वडा नं १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी, वडा नं १० का वडा अध्यक्ष बिन्दु भूषण बस्नेत, बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, गैसस बाँकेका सचिव आषिश बर्मा, ईन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, बाल क्लबका सदस्यहरु, दुबै वडाका सामाजिक संघ संस्था, अभिभावक तथा किशोरी क्लबका पदाधिकारीको उपस्थितिमा वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आर्थिक सहयोगमा भएको घोषणा समारोहकै अवसरमा बाल बिवाह बिरुद्ध कार्य गरेका व्यक्तिहरुलाई कदर पत्रले सम्मानित गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, महिला सेल, नेपालगञ्ज उपमहानगरपालिका, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा, शिक्षा तथा खेलकुद शाखा, दुई वटै वडाको स्वास्थ्य कार्यालयलाई सम्मान पत्र प्रदान गरिएको छ ।

घोषणा समारोहमा बाल विवाहको अवस्था अध्ययनको प्रतिवेदन पत्रकार शंकर प्रसाद खनाल र स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले प्रस्तुत गर्नुभएको थियो । बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७७ मा बाल विवाह मुक्त घोषणा गर्नका लागि १३ वटा सूचक र सोही सूचक अनुसार वार्षिक जम्मा विवाहको दर भन्दा २० प्रतिशत कम बाल विवाहको अवस्था देखिएपछि घोषणा गरिएको हो।

वडा नं १२ का वडा अध्यक्ष सुबेदीको अध्यक्षतामा भएको घोषणा समारोहमा प्रस्तुत गरिएको सर्वेक्षण अनुसार वडा नंम्बर १२ मा ११ दशमलव २७ प्रतिशत र वडा नम्बर १० मा १० दशमलव ७१ प्रतिशत बाल विवाहको अवस्था देखिएको छ । कार्यक्रममा नेपालगञ्ज महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, प्लान क्षेत्रीय कार्यालय सुर्खेतका संचार संयोजक जनक गिरी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, टिम लिडर नेत्रकला शाही, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

२०७८ असार २६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।