गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु

|

गोरखा । गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा माथिबाट खसेको पहिरोले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिरोबाट निकालिएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।

 

२०७८ असार १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।