चट्याङ लागेर पर्साका तीन जनाको मृत्यु

|

पर्सा । पर्सामा चट्याङ लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो ।

सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । यादव भैंसी चराउन गएका थिए ।

त्यसैगरी आजै बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

त्यस्तै खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीया असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रहेका अन्य ३ जना सामान्य घाइते भएका छन् ।

२०७८ असार १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।